Tuesday, January 6, 2015

नेपालमा आइटी विश्वविद्यालयको आवश्यत्ता

नेपालमा आइटी विश्वविद्यालयको आवश्यत्ता

सन् १९९४ मा काठमाडौँ विश्वविद्यालयबाट कम्प्युटरसम्बन्धी उच्च शिक्षाको सुरुआत भएको थियो । त्यसपछि क्रमश: त्रिभुवन, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयले आइटीअन्तर्गतका बिई कम्प्युटर, बिआइटी, बिसिए, बिएस्सी कम्प्युटर कार्यक्रमहरू सञ्चालनमा ल्याएका थिए । यतिखेर मुलुकका चार विश्वविद्यालय र केही अन्तर्राष्ट्रिय विश्वविद्यालयअन्तर्गतका ८० बढि कलेजहरूमा ब्याच्लर लेवलको आइटी शिक्षाका विभिन्न एक दर्जन शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् ।

अहिले विभिन्न विश्वविद्यालयका कलेजहरुबाट स्नातकस्तरमा बर्सेनि तीन हजार बढी आइटी विद्यार्थी उत्पादन हुने गरेका छन् । सिटिइभिटी तथा विभिन्न इन्स्टिच्युटहरुबाट अध्ययन गर्नेहरुको संख्या यो भन्दा धेरै बढि छ । तर यि सबै विद्यार्थीहरु कहा के गरिरहेका छन, त्यसको जानकारी र तथ्यांक खासै देखिदैन । विश्वविद्यालयमा अध्ययन सकेको आधा विद्यार्थीहरु त विदेशमा उच्च शिक्षा तथा कामको लागि जाने गरेको देखिन्छ । अर्कोतर्फ नेपालमै आइटी क्षेत्रमा यतिका विद्यार्थीहरु उत्पादन भइरहेका भएपनि आइटी इन्डस्ट्रीमा जब प्लेसमेन्टको अभाव देखिन्छ । एकातर्फ विश्वविद्यालय आफ्नो ढंगले शिक्षा प्रणाली अघि बढाइरहेको छ र अर्कोतर्फ आइटी इन्डस्ट्री आफ्नै रिक्वाइरमेन्टमा चलिरहेको छ । युनिर्भसिटी र उद्योगबिचको ग्यापले गर्दा विद्यार्थीले काम गर्ने ठाउ पाइरहेका छैनन भने उद्योगले दक्ष जनशत्ति पाइरहेका छैनन ।

kathmandu-university
सूचना प्रविधिको क्षेत्र यति व्यापक बनिरहदा नेपालमा सरकारको यसप्रतिको सोचाई वृहत हुन सकिरहेको छैन भने नीजी क्षेत्र अन्योलतामा गुज्रिरहेका छन । यि समस्याहरुलाई सम्वोधन गर्नको लागि पनि एउटा छुटटै आइटी विश्वविद्यालयको आवश्यक्ता नेपालमा देखिन थालेको छ । वर्षेनि हजारौँ आइटी विद्यार्थी तथा प्राविधिक बिदेसिएको अवस्थालाई सरकारले नजरअन्दाज गरेको छ । देशभित्रै ठूला आइटी कम्पनीहरूको अभावले गर्दा पनि यो समस्या आएको छ । देशभित्रै हजारौँ आइटी प्राविधिक उत्पादन भए पनि, व्यवहारिक र प्रयोगात्मक शिक्षाको कमीले दक्ष जनशक्तिको अभाव भइरहेको छ । त्यसैले सरकारले आइटी प्राविधिकलाई काम गर्ने उपयुक्त वातावरण, रिसर्च सेन्टरहरूको व्यवस्था गर्नु आवश्यक छ । सञ्चालनमा रहेका विश्वविद्यालयहरुबाट प्राविधिक विषयलाई सबै कुरा समेट्न नसक्ने हुदा छुट्टै  प्राविधिक विश्वविद्यालय नेपालमा आवश्यक देखिएको छ ।
अहिले नेपालमा लगभग ८० बढि आइटी कलेजहरु सञ्चालनमा छन भने बर्षेनी एक दर्जन कलेज थपिरहेका छन । नेपालमा रहेका विश्वविद्यालयहरुले पनि आइटी शिक्षाको गुणस्तर सुधार्न खासै पहल गरिरहको देखिदैन । जथाभावी सम्वन्धन दिने र पैसा असुल्ने लहडमा कतिपय विश्वविद्यालय छन । यसर्थ विश्वकै ठुलो उद्योगको रुपमा स्थापित भइरहेको आइटी क्षेत्रको लागि नेपालमा गुणस्तरिय उच्च शिक्षा प्रदान गर्ने आइटी तथा विश्वविद्यालयको स्थापना हुन जरुरी छ । जसले नेपालको आइटी उद्योगको विकासमा महत्वपुर्ण योगदान दिने र सरकारी क्षेत्रमा आइसिटीको क्षेत्रबाट आमुल परिवर्तन गर्न सक्ने हुनुपर्दछ । आइटी क्षेत्र र विश्वविद्यालयको ग्यापलाई घटाउदै अब खुल्ला आइटी विश्वविद्यालयको अवधारणालाई सरकार र नीजी क्षेत्रले पनि सोच्ने पो हो कि ?